पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

रघुगंगा गाउँपालिका–२ सिरुबारीस्थित सडकमा शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

म्याग्दी– रघुगंगा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारी बीचबाटोमै रोकिएका छन्। 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब इन्जिनियर सोहनजङ कार्कीले सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको बताए। ढुंगा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिनुभयो । “लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौँ । आजै सडक खोल्ने लक्ष्यका साथ काम भइरहेको छ।” 

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन्।