महाकाली सिँचाइ आयोजनाको काम १८ वर्षमा २२ प्रतिशत

कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण काम सुस्त छ।

दोधारा चाँदनी– महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति १८ वर्षमा २२ प्रतिशत मात्र भएको छ। राष्ट्रिय गौरवको आयोजना शुरू भएको दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा स्थानीय निराश छन्।

२०६३ सालमा महाकाली सिँचाइ तेस्रो चरणको काम शुरू भएको थियो। हालसम्म २८.९ किमी मूल नहर निर्माण भएको छ। ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ। कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण काम सुस्त छ।

हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन्। २८ किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन। महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताए। “हामीले एनएचपीसीसँग नहरमा पानी छाड्न आग्रह गर्दा औपचारिक रूपमा उद्घाटन नभई पानी दिन नसकिने बतायो,” सुवेदीले भने, “त्यो कुरा माथिल्लो निकायमा जानकारी गराएका छौँ।”

२०८७ सालसम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ। “अहिले पनि आयोजनाका लागि दुई अर्ब मात्र बजेट आएको छ यो अत्यन्त कम हो,” उनले भने, “मुआब्जा विवाद समाधान, पर्याप्त बजेट प्राप्ति र वनक्षेत्रका व्यवधान हटेमा निर्धारित समयमा नहर निर्माण गर्न सकिन्छ।” 

आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो। तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निर्माणले गति लिन सकेको छैन।

मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन्। शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ। १५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ।  

सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। कञ्चनपुरको एक लाख ६१ हजार ७४१ हेक्टर खेतीयोग्य जमिनमध्ये ५९ हजार ६०२ हेक्टरमा मात्र खेती हुने गरेको छ।