सौर्य विमान दुर्घटना: आफन्तलाई जिम्मा लगाउन थालियो शव

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवार तथा आफन्तलाई जिम्मा लगाउन थालिएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ– सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवार तथा आफन्तलाई जिम्मा लगाउन थालिएको छ। शुक्रबार त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले परीक्षण सकिएसँगै आफन्तलाई शव जिम्मा लगाउन थालेको हो।

त्रिवि शिक्षण अस्पतालमा शव व्यवस्थानमा खटिएका प्रहरी अधिकारीका अनुसार अहिलेसम्म चार वटा शव परिवारले बुझेका छन्। केही परिवारले भने आफ्ना माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन्। बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ। 

साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए। गम्भीर घाइते भएका विमान चालक मनीषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार जारी छ। उनको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ।