बेचनले नेपालमा नागरिकता लिएपछि बिहारमा मतदाता नामावली दर्ता गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो पटक पक्राउ परेका बेचन झासँग नेपाल र भारतको दोहोरो मतदाता परिचयपत्र रहेको प्रमाण फेला परेको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका लागि राजनीतिक तथा प्रशासनिक ‘नेक्सस’को संयोजन गर्ने प्रमुख पात्रका रूपमा प्रहरीले झामाथि अनुसन्धान गरिरहेको छ।
झाले २०६३ चैत १४ मा वीरगन्ज–७, पर्साको ठेगानामा ३४३०२२ नम्बरको नागरिकता लिएको देखिन्छ। यही नागरिकता नम्बरका आधारमा झाले काठमाडौँ–१०, मध्यबानेश्वर ठेगानामा मतदाता परिचय पत्र (४२३६००२) समेत लिएको भेटिएको छ। भारतको बिहार राज्यस्थित मधुवनी जिल्ला, खजौली प्रखण्ड अन्तर्गतको ‘पंचायत आम निर्वाचन नामावली–२०१६’को सूचीपत्रमा पनि बेचन झाको मतदाता नामावली भेटिन्छ।
५८ वर्ष उमेर उल्लेख गरिएको मतदाता नामावलीमा झाका पिताको नाम ‘दुखन मोचन’ लेखिएको छ जुन नेपाली नागरिकतामा उनले लेखाएको ‘दुःखमोचन’सँग मिल्छ। यही नामावली सूचीमा बेचनकी श्रीमती चन्द्रिका देवी, भाइ रमेशकुमार तथा छोराहरू विभांसुशेषर र जिष्याशुशेषरको अलग्गै नामावलीसमेत पाइएको छ। बेचनले नेपालमा नागरिकता लिएपछि बिहारमा मतदाता नामावली दर्ता गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

बेचनकी श्रीमती चन्द्रिकाको नाममा रहेको विभांसु ब्रदर्श प्राइभेट लिमिटेडको प्रमाण पुर्जामा चन्द्रिकाको नागरिकता नम्बर उल्लेख गरिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको विभांसु ब्रदर्समा चन्द्रिकालाई एकल सेयरधनीका रूपमा प्रमाणपत्र दिइएको छ।
भुटानी शरणार्थी प्रकरणबारे प्रहरीले प्राप्त गरेको यसअघिका विभिन्न टेलिफोन संवादमा उनी आफैले खुलाएअनुसार उनको घर काठमाडौँको मध्यबानेश्वरमा छ जुन श्रीमती चन्द्रिकाको नाममा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धान शुरू भएयता गत साल वैशाखबाट सम्पर्कविहीन रहेका बेचनलाई असार १४ गते नेपाल–भारत सिमावर्ती बिन्दु (रुपेडिया) बाट प्रहरीको विशेष टोलीले पक्राउ गरेर ल्याएको थियो। अनुसन्धानका क्रममा बेचन काठमाडौँ जिल्ला प्रहरी हिरासतमा छन्।
नक्कली शरणार्थी प्रकरणमा बालुवाटारदेखि सिंहदरबारसम्मको राजनीतिक समन्वय मिलाउने र राजनीतिक उच्चपदस्थसँग निरन्तर भेटवार्ता गर्ने गरेको प्रमाणका साथै यही सरोकारका कुराकानीको अडियो रेकर्ड र बैंक कारोबारका प्रमाण भेटिएपछि बेचनमाथि प्रहरीले निगरानी बढाएको थियो।
संगठित अपराधको अभियोगसहित अनुसन्धानको प्रक्रियामा रहेका झालाई रिहा गर्न उनका छोराले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन बिहीबार अस्वीकृत भएको थियो। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘कानूनबमोजिम गर्न’ भन्दै थुनामै राखेर झामाथिको अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
झाले पर्सा जिल्लाबाट लिएको नागरिकताको आधिकारिकताबारे समेत अनुसन्धान जारी रहेका बेला उनको बसोबास भारतस्थित बिहार राज्यको मधुवनी जिल्ला, मरुकिया गाउँमा पनि रहेको प्रहरीले पत्ता लगाएको थियो। उनको द्वैध नागरिकता रहेको सूचना पाए पनि यसबारे प्रहरीले प्रमाण फेला पार्न सकेको थिएन।

“हामी अनुसन्धानकै क्रममा छौँ,” जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले उकालोसँग भने, “दोहोरो नागरिकता वा यसबारेको प्रमाण भेटिएमा यस आधारमा झामाथि थप अभियोजन हुन सक्नेछ।”
बेचनको नेपाल तथा भारत दुवै देशको मतदाता नामावली भेटिएकोबारे थप अनुसन्धान जरूरी रहेको भन्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालको विधिअनुरूप मतदाता नामावलीमा नाम आएको अवस्था नागरिक प्रमाणीकरणको अन्तिम आधार हुने बताए।
तर भारतको हकमा आधार कार्ड राख्ने वा मतदाता नामावलीमा नाम दर्ता गराउने आफ्नै प्रक्रिया हुनसक्ने भिन्न सम्भावनाबारे पोखरेलले भने, “एउटै व्यक्तिमा यसरी दुई देशको मतदाता परिचयपत्र हुनु आफैमा अनुसन्धानको विषय हो, यसमा थप अध्ययन हुनुपर्छ।”
यो पनि: बेचन झा जसले मन्त्रिपरिषद्लाई नै हात लिएर नक्कली शरणार्थी गिरोहको पक्षमा निर्णय गराए
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
