भोजपुरको होम्ताङ गाउँ: जहाँ घर–घरमा नाङ्लो बुनिन्छ

चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ। यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत शहरमा बिक्री हुन्छ।

भोजपुर– हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन्। अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको छ। 

हतुवागढी–६ लंखाका ७५, विथारामा १६५, लुम्बुवा १३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका छन्। हतुवागढी–६ का राजेन्द्र राईले भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन नाङ्लो उत्पादन हुने गरेको बताए। दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ। 

यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ। महिनामा १८ हजारदेखि २० हजार थानसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए। एउटा नाङ्लो औसतमा १०० देखि १५० रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको छ। 

“गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्,” राईले भने, “हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो। सबै जना मिलेर यहाँ उत्पादन भएको नाङ्लो संकलन गरेर बाहिरका बजारमा पठाउँछौँ।” गाउँमा नाङ्लो बिक्रीबाट वार्षिक दुई करोडदेखि दुई करोड ५० लाख रुपैयाँ हाराहारी रकम भित्रिने गरेको उनले बताए। एउटा परिवारले मासिक न्यूनतम १५० देखि ३०० वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन्।

चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ। यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत शहरमा बिक्री हुन्छ। चाडबाडका समयमा नाङ्लोको माग बढी हुन्छ। नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यावसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउँछन्। 

नाङ्लो बुनेर घर खर्च चलाउँदै आएकी पूजा राईले आफ्ना घरका सबै जनाले नाङ्लो बुन्ने गरेको बताइन्। एक महिनामा १५० वटा नाङ्लो बुन्ने गरेको र बिक्रीबाट वार्षिक दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उनले सुनाइन्। “खेतबारी चोरै छ, त्यसैले घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौँ, आम्दानीको स्रोत नै यही हो,” उनले भने।