‘स्काइ वाक टावर’ सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

गर्मीमा तराईका पर्यटकको रोजाइ भेडेटार हुने गरेको छ। चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ।

धनकुटा– पर्यटकीय नगरी भेडेटारमा ‘स्काइ वाक टावर’ सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायी उत्साही बनेका छन्। वोन्डर्स एम्युजमेन्ट पार्कस् एन्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी  क्षेत्रफलमा २० कारोड लगानीमा स्काइ वाक सञ्चालनमा ल्याएको हो।

शुक्रबार टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्नेमा पर्यटन व्यवसायी आशावादी बनेका छन्। होटल संघ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले टावर सञ्चालनपछि पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे। “टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ, अब यहाँका होटलको व्यापार सुधार हुने अपेक्षा लिएका छौँ,” उनले भने। 

लामो समयदेखि होटल व्यवसायमा संलग्न स्थानीय रमेश श्रेष्ठले होटलको व्यापारसँगै यस क्षेत्रको कृषि उपज बेचबिखनमा समेत सहयोग पुग्ने बताए।

होटल संघका भेडेटारका पूर्वअध्यक्ष लिलाराज लावतीले पनि यहाँ सञ्चालित १०० भन्दा बढी ठूला होटललाई यस परियोजनाले महत्त्वपूर्ण सहयोग पुग्ने बताए। 

गर्मीमा तराईका पर्यटकको रोजाइ भेडेटार हुने गरेको छ। चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ। होटल संघका अनुसार दृश्यावलोकनका लागि भेडेटारमा दैनिक पूर्वी भारत र नेपालका विभिन्न स्थानबाट दुई हजारभन्दा बढी पर्यटक आउने गरेका छन्।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले टावर सञ्चालनमा आएपछि यहाँको पर्यटन विकासमा टेवा पुग्ने बताए। हाल भेडेटारमा साना र ठूला गरी २०० भन्दा बढी होटल सञ्चालनमा छन्।