झापाका पालिकाले तिरेनन् सडक बत्तीको महसुल

झापाका सबै पालिकालाई बारम्बार पत्राचार गरेर सडक बत्तीको बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि आलटाल गरेको अनारमनी वितरण केन्द्रले जनाएको छ।

प्रतीकात्मक तस्वीर

झापा– नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रअन्तर्गत ६ नगरपालिका र पाँच वटा गाउँपालिकामध्ये अधिकांशले सडक बत्ती शीर्षकको रकम तिर्न आलटाल गर्ने गरेका छन्। जिल्लाका धेरैजसो पालिकाले प्राधिकरणलाई तिर्नुपर्ने बिलको रकम नतिरेका केन्द्रका प्रमुख सञ्जीवकुमार साहले बताए।

साहका अनुसार रकम भुक्तानी नगर्नेमा बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, मेचीनगरका–११, १२, १३ र १४, शिवसताक्षी नगरपालिका–७ र १०, इलामको माई नगरपालिका–५, झापा गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७, हल्दिबारी गाउँपालिका–१, बुद्धशान्ति गाउँपालिका–५, रोङ गाउँपालिका–२ रहेका छन्। उनले उल्लेखित पालिकाले सार्वजनिक भवन तथा सडक बत्ती बापतको रकम भुक्तानी गर्न बाँकी रहेको बताए।

सबैभन्दा बढी बाह्रदशी गाउँपालिकाको ५५ लाख ३८ हजार ४६, बिर्तामोड नगरपालिकाको २९ लाख ७४ हजार ९५७, मेचीनगर नगरपालिकाको १० लाख ८८ हजार ६२१ र कनकाई नगरपालिकाको १० लाख ६३ हजार ७३९ रुपैयाँ बक्यौता रकम रहेको साहले जानकारी दिए। सबै पालिकालाई बारम्बार पत्राचार गरेर बक्यौता रकम बुझाउन आग्रह गरिरहेको उनले बताए।

अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजार १७० ग्राहकको लाइन काटेको छ। केन्द्रका प्रमुख साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार १३६ ग्राहकले बक्यौता महसुल र जरिबाना तिरेपछि पुनः विद्युत् जडान गरिएको बताए। उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ।

“विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिबाना ६ करोड ७० लाख २८ हजार ४१२ रुपैयाँ थियो। एक हजार १३६ ग्राहकबाट तीन करोड ९० लाख ९७ हजार ५६७ रुपैयाँ असुली भएको छ,” प्रमुख साहले भने। उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्राहकसँग प्राधिकरणले दुई करोड ७९ लाख ३० हजार ८४५ रुपैयाँ असुली गर्न बाँकी छ।

अनारमनी वितरण केन्द्रका २३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ। कालोसूचीमा रहेकाबाट रु एक करोड ३२ लाख ३१ हजार ६३ बक्यौता असुली गर्न बाँकी छ। 

एक अर्ब ३१ करोड राजस्व असुली
प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्षमा नयाँ विद्युत् लाइन जडान, नियमित विद्युत् महसुल, बक्यौता र जरिवाना असुली गरेर एक अर्ब ३१ करोड ८४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

जिल्लामा रहेका विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी ग्राहक अनारमनी केन्द्रमा रहेका छन्। यहाँ ९३ हजार ४१८ ग्राहक संख्या रहेको केन्द्रका प्रमुख साहले जानकारी दिए।

ग्राहस्थ तथा गैरग्राहस्थ, व्यापारिक, गैरव्यापारिक, औद्योगिक, सडक बत्ती, सिँचाइ, खानेपानी, मन्दिर, यातायात, आन्तरिक खपत, सामुदायिक, मनोरञ्जनलगायत क्षेत्रमा ग्राहक विभाजन गरेर महसुल उठाउने गरिएको उनले बताए।

“उपभोक्तालाई हामीले प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने हो”, प्रमुख साहले भने, “खपत भएको विद्युत् युनिट बराबरको बिलमा तोकिएको रकम सबैले आफ्नो कर्तव्य ठानेर तिर्नुपर्छ, तिर्न आनाकानी गरे वा ढिलाइ भएमा लाइन काट्नु हाम्रो बाध्यता हो।”