संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्– पहिलो सुरक्षित पानी, दोस्रो व्यक्तिगत सरसफाइ र अर्को अनुगमन।
काठमाडौँ– स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभर हालसम्म १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए।
उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्त्वपूर्ण रहेको बताए। “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ,” उनले भने।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रमामक झाडापखालासम्बन्धी रोग हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ।”
हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखा पर्छन्। हैजा संक्रमण भयो र उपचार पाएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन्। डा. पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ। कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुनु, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ।
डा. पुन मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्। पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन। उनी सबैभन्दा महत्त्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउँछन्। “हैजा दूषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ। धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्,” उनले भने, “किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ। विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरूले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन्। जसले गर्दा हैजाको संक्रमण फैलिन्छ।”
उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताउँछन्। “शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ। शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरू फैलिन सक्छ। दिसामा रहेका जीवाणु कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ। शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिची हात धुन जरुरी छ,” उनले भने।
डा. पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा मानिसहरू बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्छन्। “अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ,” उनी भन्छन्, “किनभने विकसित देशमा पानीजन्य रोगहरू अत्यधिक कम छ।”
हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुनुपर्ने विज्ञहरूको सुझाव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
