धनुषामा रेल्वे लिकमा परेर एक जना गम्भीर घाइते

जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अलमलिएर रेलकै लिकमा परेका थिए।

जनकपुरधाम– जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एक जनाले दुवै खुट्टा गुमाएका छन्। जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन्।

शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अलमलिएर रेलकै लिकमा परेका थिए।

लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायब उपरीक्षक दयाराम पौडेलले जानकारी दिए। दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो।