बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थिति नियन्त्रणमा लिन टियर ग्यास प्रहार

उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाने मृतकका आफन्तले बताएका छन्।

सुदूरपश्चिम– उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको नोभा अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले शनिबार चार सेल टियर ग्यास प्रहार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता गंगादत्त बडूले अस्पतालमा तोडफोड हुन थालेपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीका तर्फबाट चार सेल टियर ग्यास प्रहार गर्नुपरेको बताए। 

“अहिले स्थिति सामान्य अवस्थातिर गइरहेको छ, अस्पताल प्रशासन र मृतक पक्षका बीच समस्या समाधानका लागि छलफल चलिरहेको छ,” उनले भने। सशस्त्र प्रहरी बलले पनि केही सेल टियर ग्यास प्रहार गरेको थियो।

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको तोडफोडबाट अस्पतालमा क्षति पुगेको छ। कमलपित्त (जन्डिस)भएको भनेर उपचारका लागि अस्पताल पुगेका कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–२ का १७ वर्षीय युवक नसिभ चौधरीको हिजो मृत्यु भएको थियो। 

आफन्तले उपचारमा गरिएको लापरबाहीका कारण चौधरीको मृत्यु आरोप लगाएका छन्। तनावपूर्ण अवस्थालाई थप बिग्रिन नदिन धनगढीको मुख्य सडकसँगै जोडिएको उक्त अस्पताल आसपासमा शनिबार दिनभरि नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाने मृतकका आफन्तले बताएका छन्। निजी क्षेत्रबाट सञ्चालनमा रहेको नोभा अस्पतालका पदमराज भट्टले भने उपचारमा लापरबाही नभएको दाबी गरेका छन्।