सौर्य विमान दुर्घटना : विदेशी नागरिकबाहेक सबै शव आफन्त बुझे

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १८ मध्ये १७ जनाको शव आफन्तले बुझेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।

विमान दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाको शव आफन्तले बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार मृतक एक विदेशी नागरिकको शव प्रक्रिया पुर्‍याएर व्यवस्थापन गरिनेछ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन्। शुक्रबार पाँच जना र शनिबार १२ जनाले शव बुझेका हुन्।

यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनामा पर्दा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो।

सोही दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्य बाँच्न सफल भएका छन्। दुर्घटनामा घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचारकक्षमा उपचार गरिएको थियो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।