‘राइड शेयरिङ’को विरोधमा पोखरामा सार्वजनिक यातायात बन्द

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन्।

कास्की– मुलुकको पर्यटकीय राजधानी पोखरामा आइतबार बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन्। बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन्।

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आइतबारदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका हुन्। सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने निर्बाध सञ्चालन भइरहेका छन्। 

यातायात व्यवसायी महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए।

“हामीले ४८ घण्टाको समय दिएर हाम्रा मागहरू सरकार समक्ष राखेका थियौँ, सरकारले कुनै पनि चासो नदिएपछि आजदेखि प्रदेशभर सार्वजनिक यातायात घर तथा ग्यारेजमा थन्काएर बसेका छौँ,” उनले भने।

प्रदेश सरकारले निजी सवारीसाधन (रातो प्लेट)मा यात्रु बोक्न दिने गरी राइड शेयरिङलाई वैधानिकता दिन लागेको आरोप व्यवसायीको छ। यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले रातो नम्बर प्लेटका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई यात्री बोक्न दिने गरी कार्यविधि बनाएको छ।

यातायात व्यवसायीसँग परामर्श नगरी एकलौटी रूपमा निजी सवारीसाधनलाई यात्री ओसारपसार गर्न वैधानिकता दिन लागिएकोप्रति यातायात व्यवसायी महासंघको आपत्ति रहेको अध्यक्ष पौडेलले बताए। 

यातायात व्यवसायीले यातायात प्राविधिकीकरण गठन गरी सञ्चालनको कार्यविधि तयार गर्ने, यातायात, मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्ने, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्ने, सडक सुरक्षा योजना लागू गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन्।