कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति चयन मंगलबार

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति रहेकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो।

काठमाडौँ– संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मंगलबार हुने भएको छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम उक्त समितिको सभापतिको निर्वाचनका लागि यही साउन १५ गते समय तय गरिएको हो। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा रानाले सभापति पदको निर्वाचनसम्बन्धी जानकारी दिँदै निर्वाचनसम्बन्धी सूचना आइतबार नै प्रकाशित गर्न प्रतिनिधिसभाका महासचिवलाई निर्देशन दिइन्। 

यसअघि समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो। प्रतिनिधिसभाको आइतबार को बैठकले सांसद उपेन्द्र यादवलाई अर्थ समिति, भानुभक्त जोशी र दीपक कार्कीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र धनबहादुर बुढालाई महिला तथा सामाजिक मामिला समितिको सदस्यमा चयन गरेको छ।