काठमाडौँमा ३ जनामा हैजा पुष्टि भएपछि अध्ययन गर्न टोली खटाइयो

कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएपछि अध्ययन गर्न टोली खटाइएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। “तीन जनामा रोग पुष्टि भएको छ। हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ। अन्यत्र फैलिन नदिनका लागि सचेत छौँ,” डा. अर्जुन सापकोटाले भने। 

योसँगै देशभर हालसम्म १३ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यसअघि ललितपुरको एक सुधार केन्द्रमा सात र कैलालीमा तीन जना हैजाका बिरामी भेटिएका थिए।

कार्यालय प्रमुख डा. सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए। 

केही दिनअघि टुकुचा खोला र बागमती नदीको संगमस्थलमा टेकुमा पोलियोको जीवाणुसमेत देखिएको थियो। 

चिकित्सकका अनुसार हैजाको जीवाणु संक्रमित खाना या पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गरेको गर्दछ। संक्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुन सक्दछ। 

हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ। यस्तै, कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ।