वीरगन्ज महानगरले ३ उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदियो

महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला  नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए।

पर्सा– वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरूप ती उद्योगको मुख्यद्वारमा फोहोरमैला थुपारिदिएको छ। नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहोरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इन्डस्ट्रिज प्रालीको मुख्यद्वार प्रांगणमा फोहोर थुपारिदिएको हो।

वीरगन्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहोरमैला खसाली दिएको बताए। “उद्योगबाट निस्कने फोहोरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ। तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहोरमैला थुपारिदिएको हो,” उनले भने।

महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला  नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए। महानगरले गत वैशाख ९ गते नदीमा फोहोरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहोरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो। तर उद्योगले फोहोरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए।

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहोरमैला गर्ने उद्योगमा फोहोर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए।