२०२० मा ओहायोको चुनावी र्यालीमा ट्रम्पले भनेका थिए– 'बाइडेनलाई चुन्नु भनेको धर्मविहीन हुनु हो। बाइबललाई हानि गर्नु, परमेश्वरलाई हानि गर्नु हो। बाइडेन भगवान र बन्दुकको विरुद्धमा छन्।'
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति अहिले चर्चामा छ।
गत हप्ता ट्रम्पले फ्लोरिडामा चुनावी र्यालीमा भनेका थिए, “क्रिस्चियनहरू, बाहिर निस्किनुहोस् र यो एक पटक मात्रै मतदान गर्नुहोस्। त्यसपछि तपाईंले मतदान गर्नु पर्दैन। चार वर्षमा सबै सच्याइन्छ। मेरा प्यारा क्रिस्चियनहरू, तपाईंले फेरि कहिल्यै मतदान गर्न आवश्यक पर्दैन। म तपाईंहरूलाई माया गर्छु।”
डेमोक्र्याटिक पार्टीले आफ्नो चुनावी अभियानमा ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भएको भन्दै आएको छ।
सन् २०२० मा भएको राष्ट्रपतीय चुनावमा पराजयपछि ट्रम्पले निकै आक्रामक व्यवहार देखाएका थिए। ट्रम्पका समर्थकहरूले वासिंटनको क्यापिटल हिलमा आक्रमण नै गरेका थिए।
यस्तो अवस्थामा क्रिस्चियनको बारेमा दिएको यो भनाइलाई लिएर बहस शुरू भएको छ, आखिर ट्रम्पले के भन्न खोजेका हुन्?
ट्रम्पको भनाइप्रति प्रतिक्रिया
ट्रम्पको चुनावी अभियानका प्रवक्ता स्टिभन चेङलाई यस भनाइमा स्पष्टीकरण सोध्दा उनले प्रत्यक्ष रूपमा केही भनेनन्। “ट्रम्पले देशलाई एकजुट गर्ने कुरा गरिरहेका थिए,” स्टिभनले भने। स्टिभनले विषय परिवर्तन गरे र ट्रम्पमाथि दुई हप्ताअघि भएको आक्रमणमा राजनीति भइरहेको आरोप लगाए।
ट्रम्पमाथि हमला गर्नुको कारण भने अनुसन्धानकर्ताहरूले अहिलेसम्म बताउन सकेका छैनन्। ट्रम्पको भनाइप्रति वकिल एन्ड्रयु सिद्दलले प्रतिक्रिया दिएका छन्। “यो इसाई राष्ट्रवाद होइन, ट्रम्पले हाम्रो लोकतन्त्रलाई ध्वस्त पार्ने र क्रिस्चियन देश बनाउने कुरा गरिरहेका छन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यस्तै, अभिनेता मोर्गन फेयरचाइल्डले सामाजिक सञ्जालमा भने, “तर म फेरि भोट गर्न चाहन्छु भने के हुन्छ? मैले सधैं भनेको छु कि हामीले फेरि भोट गर्ने मौका पाउनुपर्छ। यो अमेरिका हो।”
एनबीसी कानूनी टिप्पणीकार केटी फ्याङ भन्छिन्, “यदि ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए भने, उनी कहिल्यै ह्वाइट हाउस छोड्नेवाला छैनन्।”
यस्तै, राजनीतिक टिप्पणीकार किथ ओल्बरम्यान उक्त अभिव्यक्तिले ट्रम्पले २०२८ को चुनाव रद्द गरेको बताउँछन्।
डेमोक्रेटिक सिनेटर मार्टिन हेनरिकका सञ्चार निर्देशक केटी पेटीले भनिन्, “जब हामी ट्रम्प लोकतन्त्रको लागि खतरा हो भनेर भन्छौँ, हामीले त्यही भन्न खोजिरहेका हुन्छौँ, जुन अहिले ट्रम्पले आफैँले भनेका छन्।”
कमला ह्यारिसको चुनावी अभियानका प्रवक्ता जेसन सिंगरले ट्रम्पको फेरि मतदान नगर्ने भनाइलाई आश्चर्यजनक र प्रतिगामी भएको बताए।
ट्रम्पको भनाइ किन चिन्ताजनक?
कतिपयले ट्रम्पको भोट नदिने भनाइलाई उनको पहिलेको भनाइसँग जोडिरहेका छन्।
डिसेम्बर २०२३ मा, ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा आफूले राष्ट्रपति चुनाव जिते पहिलो दिनको लागि मात्र तानाशाह बन्ने बताएका थिए। ताकि मेक्सिकोसँगको दक्षिणी सीमा बन्द गर्न र तेल खानी विस्तार गर्न सकियोस् भन्ने उनको भनाइ थियो। त्यतिबेला जब डेमोक्र्याटहरूले उक्त बयानको आलोचना गरे, ट्रम्पले त्यसलाई मजाक भनेका थिए।
यसअघि पनि ट्रम्पले धेरै पटक निरंकुश शासकहरूको तारिफ गरेका उदाहरण छन्। यी शासकहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, हंगेरीका भिक्टर ओर्बान र उत्तर कोरियाली शासक किम जोङ उनको नाम समावेश छ।
द गार्डियनको रिपोर्टका अनुसार ह्वाइट हाउसका एक पूर्व कर्मचारीले ट्रम्पले एक पटक हिटलरले पनि केही राम्रा काम गरेको बताएका थिए। हिटलरको नाजी शासनकालमा ६० लाख यहुदीहरूको हत्या भएको थियो।
क्रिस्चियनहरूमाथि ट्रम्पको जोड किन?
अमेरिकामा, जनगणना विभागले मानिसहरूको धर्मको तथ्यांक संकलन गर्दैन।
थिंक ट्यांक प्यू रिसर्च सेन्टरको अनुमानअनुसार अमेरिकामा क्रिस्चियनहरूको संख्या जम्मा जनसंख्याको ७० प्रतिशत छ। जनवरी २०२१ मा ट्रम्प समर्थकहरूले क्यापिटल हिलमा आक्रमण गर्दा पनि त्यहाँ इसाई धर्मसँग सम्बन्धित झण्डाहरू देखिएका थिए। केही झण्डाहरूमा येशू २०२० पनि लेखिएको थियो।
क्यापिटल हिलतर्फ जानुअघि केही मानिसहरू घुँडा टेकेर प्रार्थना गरिरहेको पनि देखिएका थिए। केही मानिसहरूले हातमा एउटा ठूलो काठको क्रस बोकेका थिए। त्यसपछि केही समर्थकहरूले ट्रम्पलाई इसाई धर्मको रक्षक भने।
अमेरिकाको राजनीति कसरी विभाजित छ, त्यो पनि २०२० को चुनावमा खुलेको थियो। एक्जिट पोलले देखाएको छ कि एक चौथाई गोरा अमेरिकी इसाईहरू ट्रम्प समर्थक थिए भने ९० प्रतिशत अश्वेत क्रिस्चियनहरूले बाइडेनलाई समर्थन गर्ने बताएका थिए।
ट्रम्पले पछिल्लो चुनावमा पनि क्रिस्चियन धर्मको रक्षा गर्ने कुरा गरेका थिए। केही समर्थकहरूले ट्रम्पको चुनावी अभियान ‘मेक अमेरिका ग्रेट अगेन’लाई ‘मेक अमेरिका क्रिस्चियन अगेन’का रुपमा पनि हेर्न थालेका छन्।
२०२० मा ओहायोको चुनावी र्यालीमा ट्रम्पले भनेका थिए– “बाइडेनलाई चुन्नु भनेको धर्मविहीन हुनु हो। बाइबललाई हानि गर्नु, परमेश्वरलाई हानि गर्नु हो। बाइडेन भगवान र बन्दुकको विरुद्धमा छन्।”
अब सन् २०२४ को राष्ट्रपतीय चुनावमा ट्रम्प फेरि क्रिस्चियन धर्मका लागि सक्रिय भएका छन्। हालै एक कार्यक्रममा ट्रम्पले क्रिस्चियन विरोधी विचारका विरुद्ध टास्क फोर्स बनाउने कुरा गरेका थिए। साथै अमेरिकामा क्रिस्चियनमाथि हुने उत्पीडन र भेदभावको छानबिन गर्ने बताएका थिए।
ट्रम्पको बयान र संविधान
अमेरिकामा एक व्यक्ति दुई पटक मात्र राष्ट्रपति बन्न सक्छ अर्थात् आठ वर्षसम्म शासन गर्न सक्छ। ट्रम्प २०१६–२०२० मा राष्ट्रपति थिए।
अमेरिकामा, फ्र्यांक्लिन रुजवेल्टले मात्र दुई पटक भन्दा बढी राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। रुजवेल्टले सन् १९३२ देखि १९४५ मा आफ्नो मृत्युसम्म चार पटक अमेरिकाको राष्ट्रपति रहे।
ट्रम्पले चुनावी र्यालीमा यसबारे भनेका थिए, “तपाईलाई थाहा छ फ्र्यांक्लिन १६ वर्षसम्म चार पटक राष्ट्रपति थिए। मलाई थाहा छैन हामी तीन कार्यकालको बारेमा विचार गर्नेछौँ या दुई कार्यकालको बारेमा?”
द गार्डियनको रिपोर्टका अनुसार विज्ञहरूले ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिनुपर्ने चेतावनी दिएका छन्। यदि ट्रम्प फेरि जिते भने अमेरिकी संविधानको २२औँ संशोधन अनुसार जनवरी २०२९ पछि उनी राष्ट्रपति पदमा रहन सक्ने छैनन्। तर यदि यो संशोधनमा कुनै परिवर्तन ल्याउने हो भने त्यसका लागि अमेरिकी संसदको दुवै सदनका दुई तिहाई सदस्यको अनुमोदन आवश्यक पर्नेछ। त्यसपछि अमेरिकी राज्यको तीन चौथाईले यो परिवर्तनलाई अनुमोदन गर्नुपर्नेछ।
अहिले अमेरिकी संसदमा रिपब्लिकन सांसदको संख्या कम छ। सिनेटमा पनि डेमोक्र्याट सांसदको संख्या धेरै छैन। यस्तो अवस्थामा ट्रम्पका लागि बाटो सहज छैन।
–बीबीसी हिन्दीबाट
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
