नेपाल भ्रमणमा मिस माल्टा चेरिस, ढाका टोपी र पञ्चेबाजासहित स्वागत

हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरू नेपाल भित्रने गरेका छन्। उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरूको भनाइ छ।

काठमाडौँ– मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन्। उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्टन बोर्डको अगुवाइमा स्वागत गरिएको छ। 

उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो। मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले बताएए। उनीहरूको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ।  

नेपाली कामदारहरूको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरू केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन्। नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरूसँग मिलेर सामाजिक कार्य गर्नेछ। यस्तै, उनीहरू मिस नेपालको ग्रान्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ। 

यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले जानकारी दिए।

हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरू नेपाल भित्रने गरेका छन्। उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरूको भनाइ छ।

मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन्। उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएको र पछि माल्टाका लागि नेपालको पर्यटन दूत भण्डारीको पहलमा अहिले नेपाल भ्रमण गराइएको बताइएको छ। 

टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ।