शेयर बजारमा १९ अर्ब ६० करोडको कारोबार

सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– कारोबारको दोस्रो दिन सोमबार शेयर बजार मापक नेप्से परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ। सोमबार नेप्से २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको हो।

शेयर बजारमा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण आइतबार सकारात्मक प्रभाव देखिएको थियो भने सोमबार भने करेक्सन देखिएको छ। सोमबार वित्त र जलविद्युत् उपसमूह बढ्दा अरू सबै उपसमूह घटेको छ।

३२५ कम्पनीको चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर दुई लाख २२ हजार ६६० पटक किनबेच भएको छ। जसबाट १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको हो। आइतबार ३१८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच हजार १७६ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको भएको थियो।

नेपाल फाइनान्स लिमिटेडको शेयर ९.७७ प्रतिशतले बढेको छ। आरम्भ चौतारी लघुवित्तको शेयर ८.३५ प्रतिशतले घटेको छ।

सोमबार सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट अगाडि रहेको छ। उसको ६ अर्ब ११ करोड २२ लाख ८६ हजार ६८३ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।