बढ्दो हवाई दुर्घटनालाई लिएर सांसदले उठाए नियामकको भूमिकामाथि प्रश्न

सांसद उदयशमशेर जबराले पछिल्लो ६ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए। 

काठमाडौँ–  प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ। 

बैठकमा सांसद उदयशमशेर जबराले पछिल्लो ६ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए। 

सो अवधिमा भएका हवाई दुर्घटनामा परी ९३५ जनाले ज्यान गुमाएका तथ्यांक प्रस्तुत गर्दै उनले हवाई दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन र कडाइका साथ कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराए।

सांसद रघुजी पन्तले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताबारे मुलुकका सबै राजनीतिक दल र नागरिकको एउटै आवाज हुनुपर्ने आवश्यकता औँल्याउँदै सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने सवालमा सरकार सशक्त रूपमा भूमिका खेल्नुपर्नेमा जोड दिए। 

सांसद अमनलाल मोदीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै वर्तमान सरकारले सुशासनको अभियानलाई निरन्तरता दिन्छ कि दिँदैन भनेर प्रश्न गरे। 

सांसद रवि लामिछानेले सरकारले अन्य पार्टी र पार्टीका नेतालाई कमजोर देखाउनेतर्फ भन्दा पनि सुशासन, जनतालाई राहत दिने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद अनिसा नेपालीले विपन्न क्षेत्रका बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै असहाय, अपांगता भएका, अनाथ र जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्नुपर्नेमा जोड दिए। 

सांसद रञ्जुकुमारी झाले राजनीतिक दलले एक–अर्काप्रति आरोप प्रत्यारोप नगरी मुलुकका समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिइन्। सांसद रेखा यादवले देशका विभिन्न स्थानमा रहेका खोलामा पुल निर्माण गर्ने भनिए पनि निर्माणले पूर्णता पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। 

“किसानले कहिलेसम्म मल र बीउविजन नपाउने हो, किसानले कहिलेसम्म कृषि सामग्रीको हाहाकार खेपिरहने हो, किसानका लागि आवश्यक सामग्री पनि महँगो बनाइएको छ”, उनले भनिन्।

सांसद रामप्रकाश चौधरीले देशका विभिन्न स्थानमा बढ्दै गएको आपाराधिक क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड दिए। सांसद प्रेम सुवालले देशको सन्तुलित विकास गर्न जिल्ला भित्र मात्रै बसाइँसराइ हुने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताए। 

सांसद कान्तिका सेजुवाल पहिराका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी गराउँदै निर्बाध सडक सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे।

सांसद जुलीकुमारी महतोले प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहभागितामा गठित वर्तमान सरकारले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन्। 

सांसद जावेदा खातुनले वर्तमान सरकारसँग जनताले ठूलो आशा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्।