धार्चे पहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ४ को शव फेला

गोरखाको धार्चे गाउँपालिका–५ मा पहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये चारको शव फेला परेको प्रहरीले जनाएको छ।

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतबारदेखि बेपत्ता भएका चार जनाको शव फेला परेको छ।

पहिरोमा परेर बेपत्ता भएका सुलाल कान्छा गुरुङको शव घरनजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जीतबहादुर गुरुङको शव घरदेखि करिब २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको हो। रेशम गुरुङको शव भने शनिबार दिउँसो करिब ३ बजे फेला परेको हो। उनको शव घरदेखि ३० मिटर तल फेला परेको उनले बताए।

पहिरोमा परेर बेपत्ता भएकी कान्छी गुरुङको शव भने गण्डकी गाउँपालिका–८ बर्खेघाटमा फेला परेको उनले बताए। आइतबार दिउँसो बेवारिसे अवस्थामा बुढीगण्डकी नदी किनारमा भेटिएको उक्त शव पहिरोमा परेर बेपत्ता भएकी कान्छीको भएको परिवारले पुष्टि गरेको हो। 

आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीहरू बेपत्ता भएका थिए। पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका २७ वर्षीय रमेश परियारको अवस्था अझै अज्ञात छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।