ईभीको सञ्चालन खर्च पेट्रोल र डिजेल गाडीको तुलनामा न्यून छ। इन्धनको पैसा जोगिने र सरकारले पनि ईभी प्रयोगलाई प्रवर्द्धनको नीति लिइरहेको कारण पछिल्लो समय ईभीको बजार लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।
काठमाडौँ– “नेपालमा ईभीको बजार प्रतिशत समग्र एशियामै उच्च छ। आगामी दिनमा कुनै नयाँ प्रविधि आयो र यसलाई विस्थापित ग¥यो भने अवस्था फेरिन सक्छ तर अहिले हामी ढुक्कले भन्न सक्छौँ– यो दशक ईभीको हो,” अटोमाबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले उकालोसँग भने।
उनले भनेजस्तै तथ्यांकले पनि नेपालमा विद्युतीय सवारी साधन (ईभी)को आयात बढिरहेको देखाउँछ। दुई वर्षको अन्तरालमा ईभीको आयात ६४७.५४ प्रतिशतले बढेको छ। यो भनेको झन्डै साढे ६ गुणा बढी हो।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्षमा २०७८/७९ मा विद्युतबाट चार्ज गरेर चल्ने कार, जिप, भ्यान जस्ता हलुका चारपांग्रे सवारी एक हजार ८०७ वटा भित्रिएका थिए। आर्थिक वर्षमा २०८०/८१ मा यस्ता विद्युतीय सवारी साधन ११ हजार ७०१ वटा भित्रिएका छन्।
अध्यक्ष थापा नेपालमा अटोमोबाइल बजारको करिब ७० प्रतिशत हिस्सा ईभीले लिइसकेको बताउँछन्। विश्वव्यापी रूपमा नै ईभीको बजार बढिरहेको र पेट्रोलियम गाडीको घट्दो क्रममा रहेको उनको भनाइ छ।
ईभीमा निरन्तर नयाँ–नयाँ अन्वेषण भइरहेकाले क्षणभरमै ८० प्रतिशत ब्याट्री चार्ज हुने र एकपटक चार्ज भएपछि हजार किलोमिटरभन्दा बढी गुड्ने क्षमताका गाडीहरू निकट भविष्यमै आउने सम्भावना रहेको थापा बताउँछन्। “अब अटोमोबाइल बजार ईभीबाट पेट्रोलियम इन्धन प्रविधितिर जाने सम्भावना देखिँदैन,” उनी भन्छन्।
आर्थिक वर्ष २०७९/८० मा आयात भएको चार हजार ५० वटा ईभी आयात भएका थिए। आव २०८०/८१ मा आयात २८९ प्रतिशत अर्थात् झन्डै तीन गुणाले बढेको छ।
युवराज खतिवडा अर्थमन्त्री हुँदा आव २०७७/७८ को बजेटमार्फत ईभी आयातमा मूल्यको ८० प्रतिशतसम्म अन्तःशुल्क र ४० प्रतिशतसम्म भन्सार लिने नीति लिए। ईभीमा कर थपिएपछि त्यस बेला आयात घटेको थियो। अधिक कर भारले मूल्यसमेत बढेर बजारमा ईभीको माग पनि घटेको थियो।
उक्त वर्ष २४९ वटा ईभी मात्र आयात भए। त्यतिबेला आयातकर्ताहरूले ल्याएका गाडी लामो समयसम्म वीरगन्ज र भैरहवाजस्ता व्यापारिक नाकामा रहेका भन्सार कार्यालयको यार्डमै छोडेका थिए। आव २०७८/७९ को बजेटमार्फत ईभीको आयातमा लाग्दै आएको अन्तःशुल्क खारेज गरी भन्सार महसुलसमेत घटाइएको थियो। जसकारण उक्त वर्ष आयात बढ्दा एक हजार ८०७ वटा ईभी भित्रिए।

आव २०७९/८० मा अर्थमन्त्री जनार्दन शर्माले ईभी प्रोत्साहनको नीतिलाई निरन्तरता दिए। फलस्वरूप उक्त वर्ष चार हजार ५० वटा ईभी भित्रिए। यसरी अघिल्लो वर्षको तुलनामा ईभीको आयात २२४ प्रतिशतले बढेको थियो। ईभी आयातमा लगाइएको भन्सार महसुल सहुलियलाई केही हेरफेरसहित निरन्तरता दिएर तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याए। सरकारी सहुलियतका कारण गत वर्ष भदौ २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा भएको ‘नाडा अटो शो–२०२३’ मा ईभीको आकर्षण उच्च रह्यो।
सरकारी नीतिकै कारण ईभीको बजार अनुकूल भएको अटोमाबाइल डिलर्स एसोसिएसनका अध्यक्ष थापा बताउँछन्। “सरकारले नै प्रोत्साहन गर्न खोजेपछि ईभी सस्तो भयो। भारतमै पनि एउटै मोडल र ब्राण्डको ईभी र पट्रोल/डिजेलवाला गाडीलाई फरक मूल्य छ। ईभीलाई १४ लाख पर्दा पट्रोल/डिजेलवाला ८ लाख रूपैयाँमै आउँछ,” उनी भन्छन्, “एशियामै नेपाल मात्र यस्तो देश हो जहाँ उस्तै स्तरको पट्रोल/डिजेलवाला गाडी र ईभीको मूल्य करिब समान छ।”
ईभीको सञ्चालन खर्च पेट्रोल र डिजेलवाला गाडीको तुलनामा न्यून छ। इन्धनको पैसा जोगिने भएपछि स्वभाविक रूपमा उपभोक्ताले ईभीलाई महत्त्व दिएको थापा बाउँछन्।
बैंक पनि ईभीमैत्री
विद्युतीय गाडी आयातमा गरिएको राजस्व सहुलियतका कारण उपभोक्ताको अकर्षण बढेको अटोमोबाइल डिलर्स एसोसिएसनका कार्यकारी सदस्य अनुप बराल बताउँछन्। अहिले सार्वजनिक यातायातमा पनि ईभी प्रयोग हुँदा संख्या बढेको उनको भनाइ छ।
राष्ट्र बैंकको ऋणसम्बन्धी नीतिका कारण बैंकहरू ईभीमैत्री भएको बराल बताउँछन्। “आयतमै कर सहुलियतले मूल्य कम भयो, ईभी किन्दा मूल्यको २० प्रतिशत नगद तिर्दा बाँकी ८० प्रतिशतसम्म बैंकले ऋण दिने नीति लिइयो,” उनी भन्छन्, “पेट्रोलियम इन्धनवाला गाडी लिँदा ५० प्रतिशत पैसा क्रेताले भुक्तान गर्नैपर्छ।”
बरालका अनुसार १४ लाख रूपैयाँ भएको मान्छेले ७० लाख रूपैयाँसम्मको ईभी किन्न पाउँछ। त्यति पैसाले पेट्रोलियम इन्धनवाला गाडी भने २८ लाख रुपैयाँसम्मको रोज्नुपर्छ। “समग्रमा भन्नुपर्दा धेरै मानिसलाई रोजगारी दिएको र ठूलो पुँजी लगानी भएको अटोमोबाइल सेक्टर डिजेल र पेट्रोलवाला गाडीको बजार घटेपछि प्रभावित छ,” नाडा अटो शो–२०२३ का अध्यक्षसमेत रहेका बराल भन्छन्, “विद्युतीय सवारीको बिक्री गर्ने व्यवसायीलाई भने राहत छ, केही हदसम्म यसले अटोमोबाइल क्षेत्रलाई टिक्न पनि सघाएकोले सकारात्मक भन्न सकिन्छ।”
यस वर्ष आयात भएका ११ हजार ७०१ ईभीमध्ये सबभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका पाँच हजार ८८५ वटा छन्। ५० किलोवाटसम्म क्षमताका चार हजार ५७१ वटा ईभी भित्रिएका छन्। १०१ देखि २०० किलोवाटसम्मका २१७ वटा, २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा र ३०० किलोवाटभन्दा बढी क्षमताको एउटा ईभी आयात भएको छ। मध्यम र शुरूआती श्रेणीका ईभीको माग धेरै छ।
तीनपांग्रे पनि बढे
विद्युतीय कार, जिप र भ्यानजस्ता चारपांग्रे गाडीको आयात बढिरहेको बेला तीनपांग्रे विद्युतीय सवारीले पनि नेपालमा बजार लिइरहेको भन्सारको तथ्यांकले देखाएको छ। तीनपांग्रे विद्युतीय टेम्पो र अटोरिक्साको बजार पहिलेदेखि नै बढिरहे पनि अहिले ह्वातै बढेको देखिएको छ।

आव २०७८/७९ मा तीनपांग्रे विद्युतीय सवारी (तयारी र एसम्बल गर्नुपर्ने दुवै किसिमका गरी) नेपालमा सात हजार ३२२ वटा आयात भए। आव २०७९/८० मा पनि त्यस्ता तीनपांग्रे ईभी आयात करिब त्यही हाराहारीमा भएको छ। उक्त वर्ष नेपालमा सात हजार ४६३ वटा तीनपांग्रे ईभी आए।
पछिल्लो आव २०८०/८१ मा १२ हजार १७१ वटा तीनपांग्रे ईभी आयात भएका छन्। यो भनेको अघिल्लो वर्षको तुलनामा ६३ प्रतिशतले बढी हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
