स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरले बनायो समिति

पोखरा महानगरले सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

तस्वीर साैजन्य: प्रवेश पोखरेल

काठमाडौँ– पोखरा महानगरपालिकाले वडा नम्बर २१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। महानगरले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गरेको हो।

समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहेका छन्। समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ।

समितिलाई दुर्घटनाको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीको संख्या, विद्यार्थी राख्न पाउने संख्या लगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए।

बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। दुर्घटनामा घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो।

दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पोखरा महानगर प्रमुख आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो।