पेरिस ओलम्पिक: ब्याडमिन्टन खेलाडी प्रिन्स दोस्रो खेलमा पनि पराजित

विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। 

काठमाडाैँ– नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन्। 

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। 

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा ४ अंक जोडेका थिए। आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए। गुएनको ओलम्पिकमा यो लगातार दोस्रो सहभागिता  हो। उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए।

विश्व वरीयतामा १ सय ७२ औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो। समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए।

समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसंग बुधबार प्रतिस्पर्धा गर्ने छन्। कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित चार खेलाडी छन्।

 

यसअघि नेपाललाई प्रतिनिधित्व गर्दै पेरिस पुगेका ६ खेलमा ७ खेलाडीमध्ये ४ खेलाडी बाहिरिसकेका छन्। टेबल टेनिसका स्यान्टू श्रेष्ठ, पौडीकी डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ प्रधान र शुटिंगकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका हुन्। पौडीका एलेक्स शाह र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।