बेलायतमा छुरा आक्रमणबाट २ बालबालिकाको मृत्यु, ९ घाइते

उत्तरी इंग्ल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालक्षित छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

उत्तरी इंग्ल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालक्षित छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। 

मर्सीसाइड प्रहरीले लिभरपुलको उत्तरमा रहेको साउथपोर्टमा छुरा आक्रमणको खबर प्राप्त गरेको बताएको हो। 

मर्सीसाइड प्रहरी प्रमुख कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये ६ जना बालबालिका र दुई जना वयस्कको अवस्था गम्भीर रहेको रहेको बताए। आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चालाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ। 

“आक्रमणमा घाइते भएका वयस्कले बहादुरीपूर्वक बालबालिकालाई जोगाउन खोजिरहेका थिए भन्ने हाम्रो विश्वास छ,” केनेडीले सोमबार साँझ पत्रकार सम्मेलनमा भने। 

आपत्कालीन सेवालाई स्थानीय समयअनुसार लगभग ११ः५० बजेतिर शहरमा ‘ठूलो घटना’ भएको खबर आएको थियो। घटनास्थलबाट १७ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

“अनुसन्धान प्रारम्भिक चरणमा छ र घटनाको कारण अस्पष्ट छ,” केनेडीले भने। यो घटना आतंकवादसँग सम्बन्धित नभएको प्रहरीले यसअघि बताएको थियो।

घटनाबारे प्रहरीलाई खबर गर्ने स्थानीय व्यवसाय मालिक कोलिन पेरीले उक्त आक्रमण “हरर फिल्मको दृश्य” जस्तै भएको बताइन्।

साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ’एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई “ठूलो घटना” घोषणा गरेको सीएनएनले जनाएको छ। 

“ट्रस्टले यस घटनाको जवाफ दिन अन्य आपत्कालीन सेवाहरूसँग सहकार्य गरिरहेको छ र हाम्रा आपत्कालीन विभाग हाल अत्यन्त व्यस्त छ,” अस्पतालको वेबसाइटमार्फत प्रकाशित विज्ञप्तिमा भनिएको छ। 

बेलायतका राजा चार्ल्स र उनकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताएका छन्। 

“साउथपोर्टमा भएको भयानक घटनाको खबर सुनेर मेरी श्रीमती र म स्तब्ध भएका छौँ,” राजा चार्ल्सले सोमबार शाही परिवारको आधिकारिक सामाजिक सञ्जालमार्फत साझा गरेको विज्ञप्तिमा भनिएको छ। 

बेलायतका प्रधानमन्त्री कियर स्टारमरले पनि घटनाप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण देश स्तब्ध भएको बताए।