भक्तपुरको दधिकोटमा खोला बस्ती पस्दा ३० घर डुबानमा

वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।

भक्तपुर– सूर्य विनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन्। गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ।

सोमबार मध्यरातिदेखि बस्तीमा पानी पसेको थियो। अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो। घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ। साथै टोलमा रहेको नौ वटा गाडी र २० भन्दा बढी मोटरसाइकलसमेत पूरै डुबेर क्षति पुगेको छ।

स्थानीय समाजसेवी अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताइन्। उनले घरमा रहेका गाडी, मोटरसाइकल र अन्य समानमा गरी लाखौँको क्षति पुगेको उल्लेख गरिन्।

स्थानीय कला थापाले मध्यराति कोठामा पानी भरिएर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौशीमा गएर बस्नु परेको सुनाइन्। यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति पुर्‍याएको हो। कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको छ।

स्थानीय वडा कार्यालयका जनप्रतिनिधि तथा केही नेता मंगलबार बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए।

पाण्डेले स्थानीयले खोलामा करिडोर बनाउन वर्षौंदेखि माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको भन्दै स्थानीय आक्रोशित बनेको बताइन्। खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एक खाद्य कम्पनीमा क्षति पुगेको बताए। उनले बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै साँझसम्ममा सबै विवरण आउने उल्लेख गरे।