मनसुनयता औसतभन्दा बढी वर्षा, देशभर धान रोपाइँ बढ्यो

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ।

काठमाडौँ– सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान  रोपाइँ विस्तार भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। 

जबकी गत वर्ष यही अवधिसम्म जम्मा ७८.१ प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ। मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार २२१.६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार २७३ छ। यस वर्ष कोशी प्रदेशमा ९०.७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कोशीमा दुई लाख ५० हजार ६२४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेशमा दुई लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयको तथ्यांक छ। यस प्रदेशमा गत वर्ष ८३.३ प्रतिशत मात्रै रोपाइँ भएको थियो। 

मधेशमा गत वर्ष ५८.८ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष हालसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। बागमती प्रदेशमा पनि रोपाइँको अवस्था बढेको तथ्यांकले देखाएको छ। यस प्रदेशमा अघिल्लो वर्ष ८०.१ प्रतिशत रोपाइँ भएकामा यस वर्ष बढेर ९०.८ प्रतिशत पुगेको छ। गण्डकीमा गत वर्ष ८२.३ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। लुम्बिनीमा गत वर्ष ८०.९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। 

यसैगरी कर्णाली प्रदेशमा गत वर्ष ८५ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष ९६.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुदूरपश्चिममा गत वर्ष यही अवधिमा ९९.२ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। मंगलबारसम्म देशभार १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ। 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले मनसुनयता अहिलेसम्म औसतभन्दा बढी पानी परेको जानकारी दिए। “देशभर औसतमा ८६७ मिलिमिटर पानी परेको छ,” उनले भने, “कतिपय स्थानमा कम पानी र कतै बढी पानी परेको छ। उदाहरणका लागि विराटनगरमा झन्डै शतप्रतिशत पानी परेको छ भने दिपायल र डोटीमा ९० प्रतिशत वर्षा भएको छ। यसैगरी सिमरामा भने जम्मा ३३ प्रतिशत वर्षा भएको छ।”

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन्। सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ। कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष राम्रो वर्षा हुँदा गत वर्षको तुलनामा धान रोपाइँ राम्रो भएको जानकारी दिनुभयो। “गत वर्षको तुलनामा यस वर्ष राम्रो वर्षा भएकाले रोपाइँ विस्तार भएको छ, यस वर्ष शतप्रतिशत नै रोपाइँ हुने अपेक्षा छ,” उनले भने, “समयमा नै रोपाइँ हुँदा यस वर्ष धान उत्पादनमा पनि वृद्धि हुनेछ।”

अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भए रोपाइँ पनि समयमा नै सकिने जोशीको भनाइ छ। पूर्वक्षेत्रमा ढिलोगरी धान रोप्ने भएकाले पनि रोपाइँ कम भएको देखिन्छ। सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ। सुदूरपश्चिममा सबैभन्दा चाँडो रोपाइँ शुरू गर्ने भएर पनि अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको जोशीको भनाइ छ। 

“मुलुकको सबै क्षेत्रमा सिँचाइ सुविधा नै पुग्न सकिरहेको छैन तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवर्द्धन गरिने योजना छ,” जोशीले भने, “कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा धानले सिँचाइ नपाउनेजस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा समस्या आउने गर्छ।”

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवले राम्रो वर्षा हुँदा र समयमा नै धान रोपाइँ सम्पन्न भएमा धानको उत्पादनमा पनि वृद्धि हुने बताए। “धान उत्पादन बढाउन समयमा नै रोपाइँ सम्पन्न गर्नुपर्छ, रोपाइँ सम्पन्न भएपछि पनि समय–समयमा धानले सिँचाइ पाउनुपर्छ,” उनले भने, “तर नेपालको अधिकांश स्थानमा आकाशकै पानीको भरमा सिञ्चित गर्नुपर्ने अवस्था छ, आवश्यक परेका बेलामा वर्षा भएन भने त धानको उत्पादन पनि त बढ्दैन।”

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ। यसैगरी करिब ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस अवधिमा ८ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ। करिब ९ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ।  

धान उत्पादनको अवस्था 
कृषि मन्त्रालयको तथ्यांकअनुसार गत आवमा धानको कूल उत्पादन ४.३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २३४ मेट्रिक टन पुगेको थियो। जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो। धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो। गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ। 

यस्तै, धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ। मधेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेश प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ।