भोजपुरमा बाढीले बगाएर जलविद्युत् आयोजनाका २ मजदुर बेपत्ता

भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो। एक जनाको उद्धार गरिएको छ।

टक्सार– अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन्। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार मंगलबार रातिको बाढीले बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु बेपत्ता भएका हुन्। बाढीमा परेका २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ। सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ। बेपत्ता भएकाको खोजी जारी छ।

प्रहरी चौकी चौकी डाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा चार जनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकी डाँडाबाट प्रयोजन घिमिरेको कमान्डमा सात जनाको टोली खोजीको लागि खटिएको छ।