काठमाडौँ उपत्यकामा रातभर वर्षा: नदी करिडोरका बस्ती डुबानमा

वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– रातभर परेको वर्षाले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका नदी किनारमा क्षति पुर्‍याएको छ। 

वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्।

रातभर परेको पानीका कारण बागमती किनार क्षेत्र डुबानमा परेको छ। बागमती करिडोरका टेकु, यूएन पार्क, च्यासल, बागमती–विष्णुमती दोभान क्षेत्र, बल्खुलगायत क्षेत्र डुबानमा परेको छ। वर्षापछि बुधबार बिहान बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो।

ललितपुरको च्यासलस्थित बागमती नदीको पुल माथिबाट बाढी बगेको थियो। एमाले केन्द्रीय कार्यालय, च्यासल फुटबल मैदान, अस्थायी प्रहरी पोस्ट र पार्टी प्यालेसमा बाढी पसेको छ। 

बल्खुस्थित तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ। काठमाडौँको टेकु क्षेत्र तथा कुलेश्वर व्यापार संघ चोक क्षेत्र पनि डुबानमा परेको छ ।