भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, उद्धार कार्य जारी

विनाशकारी पहिरोले आवास तथा सडक क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ।

भारतको वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ। पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ।  

विनाशकारी पहिरोले आवास तथा सडक क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुर्‍याएको जनाइएको छ। मंगलबार केरला विधानसभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुई दिने शोकको घोषणा गरिएको छ।  

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले बुधबार र बिहीबार केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मुख्यमन्त्री पिनाराई विजयनले वायनाडको पहिरो प्रभावित चुरालमालामा उद्धार कार्य द्रुत बनाउन उच्चस्तरीय बैठक आयोजना गरेका छन्। 

यसमा विभिन्न केन्द्रीय संघसंस्था र सेनासँगको सहकार्यमार्फत राहत अभियान अघि बढाउने विषयमा छलफल भएको थियो।