दमौली सबस्टेसन निर्माणको सम्झाैता भएसँगै तीन वटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
काठमाडाैँ– मिलेनियम च्यालेन्ज एकाउन्ट–नेपाल (एमसीए–नेपाल)ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको घोषणा गरेको छ।
यो सम्झौतासँगै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको हो। निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ। उक्त नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन, एमसीए–नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङका प्रबन्ध निर्देशकपदम प्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसीसी र एमसीए–नेपालका अधिकारीहरूको समुपस्थितिमा आज आयोजित एक समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले यी तीन वटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे। उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे।
सो समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, “यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसीए–नेपालले गरेका निरन्तर प्रयासहरूको राम्रो सङ्केत हो। नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्त्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ।”
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अमेरिकी राजदूत थम्प्सनले भने, “आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसीए–नेपालसँग काँधमा काँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु।”
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, “एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्त्वपूर्ण कोशेढुंगा हो। यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्त्वपूर्ण सरोकारवाला निकायहरू अर्थ मन्त्रालय, एमसीए–नेपाल सञ्चालक समिति, नेपाल विद्युत् प्राधिकरण तथा एमसीसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु।”
एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमी लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ।
अहिले १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन कार्य भइरहेको छ। एमसीए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ।
त्यस्तै, बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ। एमसीए–नेपालले सडक मर्मत आयोजनातर्फ 'फूल डेप्थ रिक्लेमेसन'सम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
