उसु च्याम्पियनसिपमा नेपाललाई १३ स्वर्ण र ९ रजत

छैटाैँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजतसहित दोस्रो भई स्वदेश फर्किएका नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ।

काठमाडौँ– छैटाैँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजतसहित दोस्रो भई स्वदेश फर्किएका नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ।

परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरूलाई बधाई दिएका हुन्। प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो। च्याम्पियनसिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कारसमेत प्राप्त गरेका छन्।

खेलाडीहरूलाई बाधाई दिँदै धमलाले खेलाडीहरूको उच्च प्रर्दशनले नेपाली शान बढेको बताए। विभिन्न विधामा खेलाडीहरू अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् भने, सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १/१ वटा स्वर्ण पदक प्राप्त गरेका छन्। वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले १/१ स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिए। 

यस्तै, सफल पाठक, समिर बस्नेत,रिदम गोलेले १/१ रजत पदक प्राप्त गर्न सफल भएका हुन्। सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २/२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १/१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढूंगानाले बताए।