बाढी–पहिरोमा परी बुधबारसम्म १४५ जनाको मृत्यु, ४७ बेपत्ता

वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी बुधबार दिउँसोसम्म १४५ जनाको मृत्यु भएको छ।

काठमाडौँ– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी बुधबार दिउँसोसम्म १४५ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडाैँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १४५ जनाको मृत्यु भएको हो।

उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ७४ जना घाइते भएका छन्। 

काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ७३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए। बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका र बेपत्ताको खोजीकार्य जारी रहको प्रहरीले जनाएको छ।

बाढीका कारण जम्मा १८४ घर डुबानमा परेका छन्। २४८ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रवक्ता कार्कीको भनाइ छ। बाढी पहिरामा परी छ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ६३ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए।