बेनी बजारमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा ५० करोड रुपैयाँ लागतमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरिएको छ।

म्याग्दी– बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । 

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले ५० करोड रुपैयाँ लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो। 

संघीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा नदी नियन्त्रण गर्न काम थालेको थियो।

बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर निर्धारित समयमा नै काम सम्पन्न भएको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विश्वकर्माले बताए। बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण आयोजना निर्माण भएको हो। 

पर्वतको जलजला गाउँपालिका–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा १३८ मिटर लामो सोही प्रविधिको पर्खाल निर्माण भएको छ। यो योजना निर्माणका लागि चार करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो। जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो कम्पोजिट पर्खाल  निर्माण भएको छ। 

यसैगरी, जलजला गाउँपालिका–३ वारीबेनीमा तीन करोड ५० लाखमा ८४ मिटर लामो पर्खाल भएको छ। बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि दुई करोड ३० लाखमा ७५ मिटर लामो पर्खाल निर्माण भएको छ।