देशभर २ हजार ६१ जनामा डेंगी संक्रमण, सबैभन्दा बढी काठमाडौँमा

यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ।

काठमाडौँ– देशभर दुई हजारभन्दा बढीमा डेंगी रोगको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाप्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा संक्रमण देखिएको जानकारी दिए।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए। 

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको जनाइएको छ। सबैभन्दा बढी काठमाडौँमा २४९ जनामा डेंगी देखिएको छ। यस्तै झापामा १३० र चितवनमा १०५ जनामा संक्रमण देखिएको छ। 

उपत्यकामा मात्रै ३१६ जनामा डेंगीको संक्रमण देखिएको छ। काठमाडौँमा २४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको संक्रमण देखिएको हो। शाखाप्रमुख डा. दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरे। 

“डेंगी रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो। यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्दछ,” उनले भने।