बीपी कोइराला क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि २ नर्स निलम्बित

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो।

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुईजना नर्स निलम्बित भएका छन्। दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ। 

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो। बिरामीलाई ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए। 

अस्पतालका अनुसार लमजुङ दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचार भइरहेको थियो। उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो।

“खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो। रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए/नभएको पत्ता गराउन गरिने परीक्षण) गरेर क्यान्सर यकिन गरिएको थियो। सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो,” उनले भने। 

बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ। अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो। समितिले साउन ३ गते प्रतिवेदन बुझाएको थियो। 

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुई जनालाई निलम्बन र २३ जनालाई स्पष्टीकरण सोधिएको बताए। “काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ। आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने छौँ,” उनले भने।