सहकारी पीडित पुनः आन्दोलित (तस्वीरहरू)

प्रदर्शनका क्रममा उनीहरूले ‘सहकारीले दुःखको कमाइ लुटिदिँदा जिन्दगी नै अप्ठ्यारो भयो, ओखती र खाना खान नपाएर बाँच्नै गाह्रो भो’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

तस्वीर : नेपाल फाेटाे लाइब्रेरी।

काठमाडौँ– सहकारी पीडित पुनः आन्दोलित बनेका छन्। सरकारसँग सहकारी समस्या समाधान गर्न सहमति भएको ६५ दिन पुग्दासमेत माग पूरा नभएको भन्दै उनीहरूले पुनः आन्दोलन थालेका हुन्।

सहकारी पीडितहरूले मानव साङ्लो बनाएर विरोध जनाए। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले रत्नपार्कदेखि मानव साङ्लो बनाएर मुखमा कालो टेप टाँसेर विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले बोकेका प्लेकार्डमा ‘बाटोमा मकै पोलेर बेच्ने, सार्वजनिक शौचालय सफा गरेर दुःखले पैसा कमाउने सीता दर्जी, पीताम्बर भट्टराई जस्ता भई मान्छेहरूको बचत फिर्ताको ग्यारेन्टी गर ऐ सरकार सहकारी ठगहरूलाई कठोर कारबाही गर्न गोडा नकमा’, ‘भियतनाममा बैंक ठगी गर्नेको जीवन चट, नेपालमा सहकारी ठगहरूको बिगबिगी’, ‘हाम्रो दुःखको कमाई छिटो फिर्ता दिलाइदे ऐ सरकार, सहकारीले दुःखको कमाइ लुटिदिँदा जिन्दगी नै अप्ठ्यारो भयो, ओखती र खाना खान नपाएर बाँच्नै गाह्रो भो’ लगायतका नारा लेखिएका थिए।