पर्वतका अस्पतालमा डेंगीका बिरामीको बढ्यो चाप

पर्वत अस्पतालसँगै निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा पनि डेंगीका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन्।

पर्वत– पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेंगीका बिरामीको चाप बढेको छ। अस्पतालमा डेंगी र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन्। अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेंगीका लक्षण देखिएका बिरामीको संख्यासमेत अत्यधिक रहेको छ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका कारण पछिल्लो समय जटिल खालका डेंगीका बिरामी भेटिएका छन्। यस वर्ष पर्वत अस्पतालमा डेंगी पत्ता लागेका १० बिरामीमध्ये दुई जना गम्भीर छन्। “उनीहरूलाई भर्ना गरेरै उपचार गरिरहेका छौँ,” डा. बाँस्तोलाले भने।

वर्षासँगै बढेको अत्याधिक गर्मीका कारण पनि डेंगीका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। त्यस्तै प्रतिकूल मौसमका कारण भाइरल ज्वरोका बिरामीको संख्या पनि बढ्दै गएको छ। जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्ने गरिएको डा बाँस्तोलाले बताए। 

“सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीको संख्या बढिरहेको छ। हामीले एकै दिनमा ३०० भन्दाबढीको स्वास्थ्य परीक्षण गरेका छौँ,” डा. बाँस्तोलाले भने। गर्मीयाम, दूषित पानीको प्रयोग, लामखुट्टेबाट नजोगिँदा बिरामीको संख्या बढी मात्रामा देखिएको हो। उनले डेंगीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु नै सर्वोत्तम उपाय हुने बताए। यसका लागि नियमित झुलको प्रयोग गर्ने, घरवरपर सफा पानी जम्मा हुने ठाउँ सफा गर्नुपर्ने, झोलिलो र पोषिलो खानपान गर्नाले दुवै रोगबाट बच्न सकिने डा. बाँस्तोलाको सुझाव रहेको छ। 

अस्पतालमा रहेका ५६ शय्यामा भाइरलका बिरामी भरिभराउ छन्। अधिकांश उपचार गरेर फर्किने गरेका छन्। यस्तै, स्वास्थ्य बीमा गरेपछि पनि स्वास्थ्य परीक्षण गराउनेको संख्या बढ्दै गएको छ। जिल्लामा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै गएको र उनीहरूले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ नै स्वास्थ्य परीक्षणका लागि अस्पतालमा पुग्ने गरेका छन्। 

१५ शय्याको अस्पताललाई स्तर वृद्धि गरी ५० शय्याको क्षमतामा सञ्चालन गरिएको भए पनि जनशक्ति अभावमा भने समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको गुनासो छ। उनका अनुसार १५ शय्याको अस्पताल भए पनि ४१ शय्या अस्पताल व्यवस्थापन समितिले व्यवस्थापन गरेर अहिले ५६ शय्यामा बिरामी भर्ना गरिएको छ। पर्वत अस्पतालसँगै पर्वतका निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा पनि डेंगीका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन्।