जेठ २८ गतेयता बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो, ४७ जना बेपत्ता

बाढी–पहिरोलगायत विपद्‍का घटनाबाट चार हजार ११२ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

काठमाडौँ– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोलगायत विपद्‍मा परी बिहीबार दिउँसोसम्म १४८ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा तीन जनाको मृत्यु भएको छ। त्यस्तै, कोशीमा २५ जना, मधेशमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २५, कर्णालीमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी १४८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। 

साथै, यो अवधिमा विपद्का घटनामा परेर १७६ जना घाइते भएका छन्। काठमाडौँ उपत्यका, मधेश, बागमती, लुम्बिनी प्रदेशमा १०/१० जना, कोशीमा ३७, गण्डकीमा ३४, कर्णालीमा ५१ र सुदूरपश्‍चिममा १४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

‍काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्‍चिम प्रदेशमा पाँच जना गरी १०८ जनाको उद्धार गरिएको छ। 

बाढी–पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। 

बाढीको कारण जम्मा ३८३ घर डुबानमा र २५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, दुई/दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको छ। ७१५ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ११२ घर परिवार विस्थापित भएका छन्।