जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, आइतबार भोटो देखाइने

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।

ललितपुर– वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ। 

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण शुरू भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार राति जावलाखेल पुर्‍याइएको हो। रथ शुभ साइतअनुसार तान्ने चलन रहेको र सोही अनुसार जावलाखेल पुर्‍याइएको रातो मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए। उनका अनुसार जावलाखेलको ललितमण्डपमा पुर्‍याएको चार दिनमा भोटो देखाइन्छ। 

हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ। जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनले पूजाआजा गर्नेछन्। 

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ।