कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत उत्तीर्ण

नियमिततर्फका तीन लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन्।

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। 

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फका तीन लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए।

ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालका २८.२६ प्रतिशत उत्तीर्ण भएका छन्। ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन्। २० जनाको परीक्षा रद्द भएको छ ।

यसैगरी, २०७६ र २०७७ सालका ६२.५ प्रतिशत उत्तीर्ण भएका छन्। वैशाख १४ देखि २४ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ।