हामीले सम्मान र गौरवबोधका साथ गाउने, स्मरण गर्ने तथा मन–मस्तिष्कमा राख्ने हाम्रो राष्ट्रिय गीतका बारेमा कुतर्क र नियतसहितको अफवाह चल्ने–चलाउने गरिएको छ।
हाम्रो देशमा संगीतको औपचारिक शैक्षिक र चेतनागत विकास अरू देशको तुलनामा केही ढिलो विस्तार भए पनि शुरूआत भइसकेको भनेर मान्नुपर्छ। यो आफैँमा स्वागतयोग्य शुरूआती कदम हो। संगीतको तुलनामा नेपाली साहित्यमा समालोचनाको जग बन्न अलिक अघिबाट नै शुरू भएको हो। अनेक गहन किताब र आलोचकीय चेतनाले स्रष्टा, समय र सिर्जनासहित साहित्यलाई निकै धनी बनाइसकेको छ। भाषा–साहित्यमा यस्तो समृद्धि देखिए पनि संगीत समालोचना या विवेचना भने परम्पराका रूपमा अगाडि आइसकेको छैन। संगीतमा समालोचनाको परम्परा देख्न अझै केही समय लागे पनि त्यो अवश्यम्भावी छ।
स्वभावतः लोकतन्त्रमा बोल्ने अधिकार सबैको हुन्छ। तर, विषयवस्तुबारे गहिरिएर मनन नगरी या औपचारिक ज्ञान नराखी लेख्दा/बोल्दा ठूलो गल्ती हुनसक्छ। यस्तो राय–विचार आफैँमा पूर्वाग्रही हुनसक्छ। अहिलेको सन्दर्भ भने हामीले सम्मान र गौरवबोधका साथ गाउने, स्मरण गर्ने तथा मन–मस्तिष्कमा राख्ने हाम्रो राष्ट्रिय गीतसँग सम्बन्धित छ, जसका बारेमा बेलाबेला कुतर्क र नियतसहितको अफवाह चल्ने/चलाउने गरिएको छ।
राष्ट्रिय गान हाम्रो गौरव हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचनापछि जन्मिएको नयाँ राष्ट्रगान छनोट हुँदाको र त्यसपछिको स्पर्धाबारे धेरै मान्छे जानकार नै होलान्। ‘सयौँ थुँगा फूलका हामी’को रचना पद्धति र सांगीतिक स्वरूप विश्वकै उत्कृष्ट दश राष्ट्रगानमध्ये परेकोबारे पनि सबै जना जानकार भइसकेका छौँ। यसको आकलन र घोषणा रियो दे जेनेरियोमा सन् २०१६ मा सम्पन्न ओलम्पिक खेलकुदको समयमा भएको थियो। ओलम्पिक खेलमा सहभागी देशहरूको राष्ट्रिय गानमाथि अध्ययनकर्ता एलेक्स मार्सलले गरेको अध्ययनलाई आधार दिँदै बीबीसीले उत्कृष्ट राष्ट्रिय गानको सूचीसहितको लेख प्रकाशित गरेको थियो।
एलेक्स मार्सल बेलायतबाट प्रकाशित ‘रिपब्लिक अर डेथ! ट्राभल्स इन सर्च अफ नेसनल एन्थेम्स’का अंग्रेज लेखक तथा हर्न बाजा बाधकसमेत हुन्। उनले ‘नेपाली राष्ट्रगानको धुनले उपनिवेशवादी शैली (कलोनियल) नअपनाई आफ्नै मौलिक धुन विश्वसामु पेश गरेको छ’ भनी तारिफ गरेका थिए। मार्सलले नेपाल आएर यो गीति सिर्जनाबारे अध्ययनसमेत गरेका थिए। यो आफैँमा गीत–संगीत सिर्जना र सर्जक जगत्का निम्ति गौरवको कुरा हो।
अफ्रिकी र टापु देशहरू, जहाँ औपनिवेशिक साम्राज्य बिस्तार भएको थियो, त्यहाँका राष्ट्रिय गीतहरूले स्वभावतः पाश्चात्य शैली अनुसरण गरेको पाउने गरिन्छ। पहिलेको राष्ट्रगान ‘श्रीमान् गम्भीर’ले पनि पाश्चात्य शैली नै अपनाएको थियो। त्यो धुनको लय, ताल र विभाजित स्वरहरू (सोप्रानो, अल्टो, टेनर, बेस) मा गाउन पर्ने संरचनाले कलोनियल प्रभाव प्रस्ट पार्छ। नेपालको सेनाले प्रयोग गर्ने नोटेसनले पनि यो कुरो प्रस्ट पार्छ। रेडियो नेपालबाट बज्ने पुरानो रेकर्डिङमा पनि विभिन्न स्वरहरूमा विभाजित हुँदै गाएर रेकर्ड गरिएको छ। गजबको कुरो के छ भने श्रीमान् गम्भीर धुनको रचयिता को थिए, आजसम्म पनि यकिन थाहा हुन सकेको छैन। यसमा अध्येताको विभिन्न मत छन्। श्रीमान् गम्भीर गीति शब्दको रचयिता भने चक्रपाणि चालिसे थिए भनेर हामी पुस्तकमा पढ्दै आएका हौँ।
सयौँ थुँगा फूलका हामी खुल्ला प्रतिस्पर्धा र पारदर्शितासहित छनोट गरी सार्वजनिकीकरणमा आएको सिर्जना हो। दलीय सरकार र मिलीजुली गठन भएको मन्त्रिमण्डल तथा साझा मूल्यांकनबाटै शब्दकार व्याकुल माइलाको गीतमा अम्बर गुरुङको संगीत छनोटमा आएको थियो। संगीतको व्याकरण बुझेका संगीतज्ञ गुरुङले जन्माएको संगीत र त्यसमा पनि एक दर्जन धुन (खासमा साढे १३ वटा) मध्ये छानिएको यो सिर्जनामा गाँसिएको बाजागाजाको नेपालीपना सबैका निम्ति तारिफयोग्य बनेको थियो।
सयौँ थुँगा फूलको भाव र यसमा जोडिने सिर्जना सलल खोलाजस्तै बहनुपर्ने मान्यतामा गुरुङले बनाएको धुनसँगको तादात्म्य सबै उमेर–वर्गलाई जोड्न सक्ने देखिन्छ। यसमा स्वरको परिधि डेढ सप्तकभन्दा पनि सानो राखिएको छ, धुनमा कुनै प्रकारको गायन करामत राखिएको छैन। रचना सरल र कर्णप्रिय होस् तथा समूहमा गाउँदा पनि शब्द (उच्चारण)मा कैफियत नहोस् भनेर ‘सिलेबिक मेथड’ अपनाइएको छ। धुनमा सजिलै नेपालीपन अनुभव गर्न सकिन्छ।
ताल ६ र ८ अर्थात् डपल–मिटरमा बाँधिएको छ, जुन सहजै मादलको ताल र मार्चपासमा परिणत गरी गाउन–बजाउन सकिन्छ। धुनको सिर्जना गर्दा दुःखको समय या राष्ट्रिय खुशीको क्षणमा पनि गाउन–बजाउन मिल्नपर्छ भन्ने बुँदालाई पनि उसै गरी ध्यानमा राखिएको छ। गीतको अक्षर गनेर धुनको लय (टेम्पो) तय गरिएको थियो, जहाँ गीतको लम्बाइ एक मिनेट मात्रै भनेर पहिल्यै निर्धारण भएको थियो।
६-८ तालमा ‘डटेड एट नोट’ या स्वरको प्रयोग न गलत हो न अनौठो। अथवा न त यो नयाँ प्रयोग नै हो। अरू धेरै संगीतकारले यसको प्रयोग गरिसकेका छन्। ‘लम्क लम्क चम्क चम्क नौजवान हो’, ‘यो नेपाली शिर उचाली’, ‘खेलाडी हो खेलाडी हो’ आदिलाई लिन सकिन्छ। के यी सबै गीतहरू नमिलेका र त्रुटिपूर्ण हुन् त? डटेड सिकटिन्थ नोट या स्वरको प्रयोग त श्रीमान् गम्भीर धुनमा पनि प्रयोग भएको छ र यो धुनको अन्तिम शब्द ‘साराले’मा ‘मेलिस्मेटिक’ स्वर प्रयोग भएको छ।
यो घडीको नेपाल हरतरहले बदलिँदो अवस्थामा उभिएको छ, एक प्रकारको संक्रमणकाल। यो अवस्थालाई अंग्रेजीमा ‘ट्रिम्प्थ अफ गुड ओभर इभिल’ भनिन्छ। हाम्रो राष्ट्रगानको सम्मान र प्रशंसा विदेशी भूमिमा बढी भइरहेको छ, कैयन् सिम्फोनी–अर्केस्ट्राहरूले बजाइरहेका छन्। जानिफकार विदेशी एरेन्जरले एरेन्ज गरेको ‘अर्केस्ट्रल स्कोर’ हामीसँग छ। त्रुटियुक्त धुन भइदिएको भए हाम्रो गान त्यसरी बज्थ्यो होला? संगीतज्ञ अम्बर गुरुङले राष्ट्रगानको धुनमा एउटा हार्मोनिक प्रयोग गर्नुभएको छ, जसलाई ‘वर्ड पेन्टिङ’ भनिन्छ। यो शब्द र संगीतमा भरिएको चित्रकलाबारे पनि बहस हुनु जरुरी छ।
(लोकसंगीत विज्ञ लेखक गुरुङ राष्ट्रगान धुन रचयिता अम्बर गुरुङका पुत्र हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
