बयान फेरेको भन्दै सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान फेरेको भन्दै दुई जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान फेरेको भन्दै दुई जना सरकारी साक्षीविरुद्ध  भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

आयोगले पोखरा महानगरका सबइन्जिनियर उषा किरण रोकायासमेत रहेको घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा बयान फेरेको भन्दै केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा तिवारी र पौडेलले आयोगमा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेको पाइएपछि भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाए। 

आयोगले उषासहित शिवप्रसाद बराल, सुरज कुँवरसमेतलाई तीन लाख ५० हजार रुपैयाँ घुस लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दाका सरकारी साक्षीका रूपमा रहेका उनीहरूले अख्तियारलाई दिएको बयानको प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेका थिए।

‘भ्रष्टाचार मुद्दा नं. ०८०-सीआर-०१६७ मा अनुसन्धानको क्रममा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण रूपमा छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रूपमा पेश गरिएकोमा निजहरूले विशेष अदालत, काठमाडौँसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा’ उनीहरूविरुद्ध आरोप–पत्र दायर भएको प्रवक्ता घिमिरले उल्लेख गरे। 

आयोगले तिवारी र पौडेललाई बिगो तीन लाख ५० हजार रुपैयाँ कायम गरी बिगोबमोजिम जरिबाना गरी बिगोसमेत जफत हुन माग दाबी लिएको छ। “केशरीप्रसाद तिवारी र उर्मिला पौडेललाई बिगो तीन लाख पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना गरी बिगोसमेत जफत हुन मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ” प्रवक्ता घिमिरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।