हात्ती परिचालन गरी नियन्त्रणमा लिइयो बाघ

मान्छेलाई आक्रमण गरेपछि बाघ नियन्त्रणमा लिन पाँच वटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।

कञ्चनपुर– कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ। दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो। बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी–२ की २३ वर्षीया हीरा शाहमाथि आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो । 

बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि शुक्रबार मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। 

“बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ,” उनले भन। बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए। 

बाघलाई नियन्त्रणमा लिन पाँच वटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताए।