संस्थागत शेयर कर्जाको सीमा हट्यो

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ। अबदेखि संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा कुनै सीमा लागू हुने छैन।

केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताका लागि शेयर कर्जामा २० करोड रुपैयाँको शेयर कर्जा सीमा हटाएको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमालाई भने निरन्तरता दिइएको छ। कुनै एक या सबै इजाजत पत्रप्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम छ। 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पौडेलले शेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताए।