पर्यटकको नयाँ गन्तव्य बन्यो शिवपुरीको ‘धापड्याम’

चाबहिल–सुन्दरीजल–मुलखर्क–हिले भन्ज्याङ हुँदै यहाँ पुग्न सकिन्छ। बाटोमा कागेश्वरी मन्दिरको दर्शन गर्दै पनि जान सकिन्छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– शिवपुरी राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धापड्याम ताल पर्यटकको नयाँ गन्तव्य बनेको छ। काठमाडौँबाट नजिकै रहेको मनमोहन ड्याम (ताल) पर्यटकको रोजाइमा पर्ने गरेको हो। 

बर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बागमती नदीमा बगाउने उद्देश्यले ड्याम निर्माण गरिएको हो। ड्याम करिब १३ हेक्टरमा फैलिएको छ। यहाँबाट विभिन्न हिमशृंखला र निकुञ्जका प्राकृतिक दृश्यको समेत अवलोकन गर्न सकिन्छ।

चाबहिल–सुन्दरीजल–मुलखर्क–हिले भन्ज्याङ हुँदै यहाँ पुग्न सकिन्छ। कागेश्वरी मन्दिरको दर्शन गर्दै पनि जान सकिन्छ। ड्यामबाट ३ किमीको दूरीमा रहेको अर्को पर्यटकीयस्थल चिसापानीमा खाना तथा खाजा खाएर काठमाडौँ फर्किन सकिन्छ।

चाबहिलबाट ड्यामसम्मको दूरी करिब ३५ किमी छ। चाबहिल–साँखु–जरसिङपौवा हुँदै पनि पुग्न सकिन्छ। यो रुटबाट जाँदा केही छोटो पर्छ। 

धापड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ। साथै, मोटरसाइकल/स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरी २५० रुपैयाँ तिर्नुपर्छ। बाटोमा पर्यटकका लागि आवश्यक पूर्वाधार बनिसकेका छैनन्। ड्याम क्षेत्रमा पनि होटल तथा खाजाघर खुलेका छैनन्।