मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै अमेरिका

हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने इरानले वाचा गरेसँगै मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो।

तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। 

सीएनएनका अनुसार अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरू मध्यपूर्व र भूमध्य सागरमा पठाउने तयारी गरेको छ। 

रक्षासचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप’ले प्रतिस्थापन गर्न आदेश दिएको पेन्टागनकी उपप्रेस सचिव सबरीना सिंहले विज्ञप्तीमार्फत जनाएकी छन्। 

विज्ञप्तिमा कुन युद्धपोत पठाइएको छ भनेर खुलाएको छैन। तर अप्रिलमा पूर्वी भूमध्य सागरमा इजरायल विरुद्ध इरानको आक्रमण रोक्नमा दुई अमेरिकी सैन्य जहाज प्रयोग गरिएको थियो। 

अमेरिकाले पहिले नै यस क्षेत्रमा ‘यूएसएस वास्प एम्फिबियस’ नामक सैन्य जहाज तैनाथ गरेको छ। जुन आवश्यकता अनुसार  लेबनानमा रहेका आफ्ना नागरिकको उद्धार गर्न सक्षम छ। 

इरानले हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने वाचा गरेसँगै मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो। इजरायलले भने हानियाको हत्याको बारेमा कुनै टिप्पणी गरेको छैन।