बस्ती पहिरोको जोखिममा परेपछि तल्लो चिप्लाका स्थानीय त्रिपालमुनि

वडा अध्यक्ष घनश्याम घलेले बस्तीभन्दा माथि साना–साना दर्जनौँ स्थानमा जमिन फाटेर पहिरोको जोखिम बढेपछि स्थानीय सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्न थालेको बताए।

फाइल तस्वीर

लमजुङ– मर्स्याङ्दी गाउँपालिका–५ तल्लो चिप्ला गैरीगाउँका स्थानीय त्रिपाल टाँगेर बसेका छन्। यही साउन १२ गते परेको वर्षाले बस्ती माथिका जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० घरपरिवार यतिबेला सोही गाउँ नजिकैको डाँडाँगाउँमा गएर त्रिपाल टाँगेर बस्दै आएका हुन्।

वडा अध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब साढे एक सय मिटरमाथि जमिन अविरल वर्षाले १५/२० मिटर चिरा परेको र साना साना दर्जनौँ स्थानमा जमिन फाटेर पहिरोको जोखिम बढेपछि स्थानीय त्रिपाल टाँगेर बस्न थालेको बताए। यतिबेला ठूलो पानी आएर जमिन बगाउन थाल्यो भने गाउँ बगाउन सक्छ।

भिरालो ठाउँमा बस्ती भएकाले गाउँ पहिरोको उच्च जोखिममा परेपछि गाउँपालिकाबाट २५, जिल्ला प्रशासन कार्यालयबाट चार र नेपाल रेडक्रस सोसाइटीबाट १० त्रिपाल स्थानीयलाई सहयोग प्राप्त भएको तथा अस्थायी रूपमा मकैबारीमा त्रिपाल टाँगेर स्थानीयका लागि राति सुत्न व्यवस्थापन भइरहेको वडा अध्यक्ष घलेले बताए।

भदौसम्म जोखिम रहने भएकाले स्थानीयलाई मकैबारीमा त्रिपाल टाँगेर राखिएको उनको भनाइ छ। सो गाउँका करिब १६० स्थानीय रहेका छन्। मुख्य-मुख्य सामान आफन्तकामा सारिसकेको वडा कार्यालयले जनाएको छ। बिहान बेलुका घरमा खाना बनाउने र खाने तथा सुत्नका लागि ५ः३० बजे नै विद्यालय र आफन्तको घरमा जाने गरेको स्थानीय कमल गुरुङले बताए।

“बिहानै घर फर्किन्छौँ बालबच्चा र वृद्धाहरूलाई भने आफन्तको मै छाडेर सक्ने जति आउने र बिहान खाना खाएर खेतबारीमा काम गर्छौं, मौसम खराब भएको बेलामा काम गर्दा गर्दै छाडेर अर्को गाउँ जाने गरेका छौँ,” उनले भने, “हामीलाई यतिबेला घरमा खाना बनाउन खानादेखि काम गर्न पनि डराई डराइ गरिरहेका छौँ, मौसम हेरेर बस्नुपर्ने स्थिति छ।”

उनका अनुसार उपलब्ध त्रिपाल टाँगेर स्थानीय बस्न थालेका छन्। रातिको समयमा सो बस्ती नै खाली हुँदा सुनसान हुन थालेको छ। प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पहिरोको जोखिम रहेपछि अस्थायी रूपमा बस्नलाई त्रिपाल व्यवस्थापन गरिएको र स्थानीय त्रिपाल टाँगेर बस्न थालेको बताए।

बस्ती नै जोखिम स्थानमा रहेकाले पहिरो आउन सक्ने भएकाले तत्कालका लागि अस्थायी रूपमा अर्को गाउँमा स्थानीय त्रिपाल टाँगेर र आफन्तकोमा बस्न थालेकाले मान्छेहरू सुरक्षित रहने भए पनि पहिरो आएमा बस्ती सखाप हुन सक्ने प्रमुख जिल्ला अधिकारी गुरुङले बताए।