देशभर २५ जनामा हैजा संक्रमण

ललितपुरको गोदावरीमा १६, काठमाडौँको टोखामा आठ र कैलालीको धनगढीमा एकसहित देशरभर हैजा संक्रमितको संख्या २५ पुगेको छ।

काठमाडौँ– देशरभर हैजा संक्रमितको संख्या २५ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर संक्रमितको संख्या २५ पुगेको हो। 

पछिल्लो २४ घण्टामा दुई जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एक जनामा हैजा संक्रमण देखिएको ईडीसीडीले जनाएको छ। 

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो। हैजालगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन्।