अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको अलैँची विकास केन्द्रका प्रमुख राजन परियारले बताए।

इलाम– इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ। प्रतिगोटा पाँच रुपैयाँका दरले ६ लाख ४२ हजार मूल्य बराबरका बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ।

देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए। केन्द्रबाट ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैँचीका बिरुवा लगिएका छन्। केन्द्रले रामसाही र गोलसाही जातको अलैँचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए।

अलैँचीखेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैँचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम शुरू गरेको छ। “पछिल्लो समय अलैँची (फल)को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन्,” उनले भने। अलैँची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ।

गएको आर्थिक वर्ष ०८०/०८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैँची निर्यात भएको केन्द्रले जनाएको छ। देशभर १७ हजार चार हेक्टरमा अलैँची खेती भएको जनाइएको छ।