काभा भलिबलमा भारतमाथि नेपालको रोमाञ्चक जित

काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतलाई ३–२ को सेटले पराजित गरेको छ।

काठमाडौँ– नेपालले काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतमाथि रोमाञ्चक जित हात पारेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा भारतमाथि नेपाल ३–२ को सेटले विजयी भएको हो।

महिला भलिबल प्रतियोगितामा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको हो। यसअघि यी दुवै टिमबीच सन् २०१९ मा भएको १३औँ दक्षिण एशियाली खेलकुदको फाइनलमा प्रतिस्पर्धा भएको थियो। भारतले सो खेल जितेर स्वर्णपदक आफ्नो पक्षमा पारेको थियो। पहिलो दुई सेट जितेर स्वर्ण पदकनजिक पुगेको नेपाल अन्तिम सेटमा पराजित भएको थियो ।

शनिबारको खेलमा नेपालले पहिलो सेट २५–१८ ले जित्यो। दोस्रो सेटमा भारत २५–१२ ले विजयी भयो। नेपालले पुनः तेस्रो सेट २५–१७ ले जित्दा भारत २५–१८ ले चौथो सेटमा विजयी भयो। पाँचौँ तथा निर्णायक सेटमा भने नेपाल १५–१३ ले विजयी भएको हो।

नेपालको यो लगातार दोस्रो जित हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो। अब नेपालले आइतबार इरानसँग खेल्ने तालिका छ।